सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको केन्द्रीय समितिको निर्णयअनुसार देशभर विरोध कार्यक्रम सुरु भएको छ।
उक्त निर्णयअनुसार आज देशभरका जिल्ला निर्माण व्यवसायी संघहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत बाँकेमा पनि निर्माण व्यवसायीहरू सक्रिय देखिएका छन्।
यसै क्रममा बाँके निर्माण व्यवसायी संघले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमर तामाङ समक्ष ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत निर्माण सामग्री तथा इन्धनलगायतका वस्तुमा भइरहेको अप्रत्याशित मूल्यवृद्धि नियन्त्रण गर्न र निर्माण क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्न माग गरिएको छ।
निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको उल्लेख गर्दै समयमै समस्या समाधान नभए निर्माण कार्य पूर्ण रूपमा बन्द हुने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको हो। साथै, आगामी जेठ १ गते प्रदेश सरकारसमक्ष र सोही दिन तथा जेठ ४ गते विभिन्न पूर्वाधारसम्बन्धी कार्यालयहरूमा समेत ज्ञापनपत्र बुझाउँदै धर्ना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।