२ करोड ७३ लाख बढीको अवैध सामान बाँके सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, वैशाख १६, २०८३

बाँके । बाँकेस्थित सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वार्टर बागेश्वरीले सीमाक्षेत्रमा निगरानी कडा पार्दै ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ। आन्तरिक सुरक्षा मजबुत बनाउनेदेखि सीमाबाट हुने गैरकानुनी गतिविधि रोक्न सक्रिय रूपमा खटिएको उक्त गणले पछिल्लो दुई महिनामा उल्लेखनीय उपलब्धि हासिल गरेको हो।

सशस्त्र प्रहरीका अनुसार फागुन १६ गतेदेखि वैशाख १६ गतेसम्म जिल्लाका विभिन्न नाका तथा संवेदनशील क्षेत्रमा सञ्चालन गरिएको निगरानी तथा कारबाहीका क्रममा २ करोड ७३ लाख १८ हजार ७५८ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको छ।

बरामद सामग्रीमध्ये २ करोड २९ लाख २० हजार २९६ रुपैयाँ बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ भने ४ लाख ९२ हजार ६९० रुपैयाँ मूल्य बराबरको काठ डिभिजन वन कार्यालयमा हस्तान्तरण गरिएको जनाइएको छ। त्यसैगरी, ३९ लाख ७९ हजार ७७२ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ भने श्रोत नखुलेको ७ लाख २६ हजार रुपैयाँ सम्बन्धित निकायमा दाखिला गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बाँकेले सीमा सुरक्षा, अवैध ओसारपसार नियन्त्रण, मानव बेचबिखनविरुद्धको अभियान तथा विपद् व्यवस्थापनअन्तर्गत उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ। सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि खटिएको टोलीले जोखिमपूर्ण अवस्थासमेत सामना गर्दै निरन्तर सक्रियता देखाएको छ।

सरकारले लागू गरेको एक सय रुपैयाँभन्दा माथिको सामान अनिवार्य भन्सार गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सशस्त्र प्रहरीले भूमिका खेलेको उल्लेख गरिएको छ। नं।३० गणले आगामी दिनमा पनि सीमाक्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउँदै निगरानी र समन्वयात्मक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्