सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । दिग्गज सदाबहार बलिउड गायिका आशा भोषलेको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।
उनलाई अत्यधिक थकान र छातीमा संक्रमण भएसँगै शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । रिपोर्टहरूले उनलाई हृदयघात भएको बताएका थिए। यद्यपि उनकी नातिनी जनाई भोषलेले इन्स्टाग्राममा थकान र छातीमा संक्रमण भएको बताएकी थिइन् ।
सन् १९३३ को सेप्टेम्बर ८ तारिखमा जन्मेकी उनको २०२६ को १२ अप्रिलमा निधन भएको हो । उनको सोमबार स्थानीय समयअनुसार अपरान्ह ४ बजे अन्तिम संस्कार गरिने भएको छ ।
१२ हजार भन्दा बढी गीत गाइन्
आशाले आफ्नो करियरमा १२ हजार भन्दा बढी गीत गाएकी छिन् । इन्। 'दम मारो दम,' 'पिया तू अब तो आजा,'र 'चुरा लिया है तुम्ने' जस्ता उनका गीतहरू आज पनि सदाबहार छन् ।
आशा प्रसिद्ध रंगमञ्च अभिनेता र शास्त्रीय गायिका दीनानाथ मंगेशकरकी छोरी र प्रसिद्ध गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन्। उनको बुबाको मृत्यु उनी ९ वर्षको उमेरमा भएको थियो । जसले गर्दा उनले परिवारको पालनपोषण गर्न आफ्नी दिदी लता मंगेशकरसँग गाउन थालिन् ।
१६ वर्षको उमेरमा आशाले भागेर आफ्नो परिवारको इच्छाविरुद्ध लता मंगेशकरका सचिव गणपतराव भोषलेसँग विवाह गरिन् । लता र उनको परिवार विवाहको कडा विरोधमा थिए । जसले गर्दा उनले लामो समयसम्म आशासँग बोल्न बन्द गरिन् ।
नेपाली कालजयी गीत पनि गाइन्
आशाले नेपाली कालजयी गीत पनि गाएकी छिन् । उनले 'झरी बनी आएछ सावन' बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरूको मन जितेकी थिइन् । उनीसँग गीत गाउने नेपाली कलाकारको संख्या भने नगन्य छ।
मायालु तिमीलाई सम्झेर, यो मुटु भित्र, सपनीमा देखेँ तिमीलाई लगायतका गीत पनि चर्चित छन् ।
उनले ९२ वर्षको उमेरमा गत वर्ष रन्जित गजमेरको संगीतमा 'यो हाम्रो मायाु बोलको नेपाली गीत गाएकी थिइन् । उनले युवा गायक मोहन राईसँग 'यो हाम्रो मायाु मा स्वर दिएकी हुन्।
आशा भोषलेले मुख्य रूपमा हिन्दी, मराठी, बंगाली लगायत भाषामा प्रसिद्ध भए पनि नेपाली संगीतमा उनको योगदान सीमित तर स्मरणीय छ।