खोलामा बेपत्ता भएका युवकको शवलाई फेला पार्‍यो सशस्त्र प्रहरीले

आइतबार, चैत २९, २०८२

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमला खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव आज बिहान फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत्र २८ गते साथीहरूसँग पिकनिक गएका बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर तथा प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य थाले पनि पहिलो दिन उनी फेला परेनन्। त्यसपछि चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो।

उक्त टोलीले घटनास्थलबाट करिब ४० मिटर तल र झण्डै ४० मिटर गहिराइबाट उनको शव फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्