बाँकेको डुडुवाबाट ३० लाखको अवैध सागा च्याउसहित ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, चैत २९, २०८२

बाँके।  बाँकेको डुडुवा गाउँपालिका–१ पाँजाचौफेरी क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणमा सागा च्याउ (फुड सप्लिमेन्ट) बरामद गरेको छ।

शनिबार बिहान ५ बजे विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याइँदै गरेको ६२० केजी (२० कार्टुन) सागा च्याउ फेला पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको सागा च्याउको अनुमानित मूल्य २१ लाख र प्रयोग गरिएको ट्याक्टरको मूल्य ९ लाख गरी जम्मा  ३० लाख बराबरको सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त सामान आवश्यक कानुनी कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। हाल सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेमा एसपी भीम बहादुर चन्दको कमाण्ड भएसँगै सीमा नाकामा सशस्त्र प्रहरी निकै कडाइ गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्