सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके जिल्लामा यस वर्ष चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी संख्या ९ हजार ६ सय १५ रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार जिल्लाभरका दुई मदरसासहित १०५ सामुदायिक तथा १०६ संस्थागत विद्यालय गरी कुल २११ विद्यालयका विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् ।
यस वर्ष जिल्लाका आठ स्थानीय तहमा २७ सामुदायिक र ९ संस्थागत गरी कुल ३६ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी गरिएको जनाइएको छ । परीक्षार्थीमध्ये ७ हजार ९ सय १३ जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने १ हजार ७ सय २ जना ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुनेछन् ।
परीक्षा केन्द्र अनुसार हेर्दा नेपालगन्ज उपमहानगरपालिका–स्थित महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सबैभन्दा बढी ३७५ जना विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै राप्तीसोनारी गाउँपालिका, शमसेरगञ्जस्थित शिवशक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सबैभन्दा कम १६२ जना विद्यार्थी रहेका छन् ।
यसैबीच, जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता तथा दुई वटा कारागारमा रहेका ८ जना कैदीबन्दीले समेत यस वर्ष एसईई परीक्षा दिने व्यवस्था मिलाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले परीक्षा शान्त, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा भएको बताए ।