विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका उत्कृष्ट: गृहमन्त्री

बुधबार, चैत १८, २०८२

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल ले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको बताएका छन्।

बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विपद् उद्धार तथा व्यवस्थापनमा संगठनले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे। सो अवसरमा उनले विपद् व्यवस्थापनका लागि प्रयोग हुने सामग्रीहरूको अवलोकन गर्दै आगामी दिनमा यस क्षेत्रलाई अझ प्रभावकारी बनाउन मन्त्रालय र आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले विगतमा सशस्त्र प्रहरीका उच्च अधिकृतदेखि अन्य कर्मचारीहरूसँग मिलेर विपद् व्यवस्थापन कार्यमा काम गरेको अनुभव स्मरण गर्दै भविष्यमा सहकार्य अझ सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णु प्रसाद भट्ट ले कोभिड–१९ महामारीका समयमा अक्सिजन सिलिन्डर वितरण तथा स्वास्थ्य सेवामा गरिएको सहकार्यको चर्चा गरेका थिए।

त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले गृहमन्त्री गुरुङले विपद् व्यवस्थापन तालिम लिएको अनुभव स्मरण गर्दै आगामी दिनमा समन्वय अझ प्रभावकारी हुने बताए। बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले समेत सीमा क्षेत्रमा गरिएको सहकार्यलाई उल्लेख गर्दै संगठनले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री गुरुङले कार्यक्रममा उपस्थित प्रशिक्षकहरूसँग भेटघाट गर्दै विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीको सक्रियता थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहने बताए। 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्