सशस्त्र प्रहरीको खक्रौला गुल्मका डीएसपी हेडक्वर्टर तानिए

शनिबार, चैत ७, २०८२

काठमाडौँ ।  कैलालीको खक्रौलामा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा भएको एक घटनापछि त्यहाँ कार्यरत गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप पौडेल हेडक्वार्टर तानिएका छन् । 

चैत्र ४ गते भएको उक्त घटनामा भारतबाट  ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरी कार्यालयभित्र छिरेर विवाद गर्दै स्थानीय व्यापारी समूहले आक्रमण गरेको  थियो। विवादका क्रममा स्थानीय व्यापारी समूह गुल्म परिसरभित्र प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयाससमेत गरेको थियो। तर त्यस अवस्थामा आवश्यक बल प्रयोग नगरेको र सुरक्षामा लापरबाही देखिएको निष्कर्षपछि डीएसपी पौडेलसहित  सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई हेडक्वार्टर झिकाइएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार घटनालाई गम्भीर रूपमा लिइएको छ र विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको छ। यसअघि नै सो घटनाको अनुसन्धानका लागि बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ।

घटनामा  उपस्थित कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै मुख्यालय तानिएको छ भने उक्त गुल्ममा ३४ नम्बर गण, कैलालीबाट नयाँ टोली खटाइएको भट्टले जानकारी दिएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्