सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कैलालीस्थित खक्रौला क्षेत्रमा रहेको सीमा सुरक्षा गुल्ममा भएको आक्रमण घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरीका अनुसार गुल्मका डीएसपी प्रदीप पौडेलमाथि आक्रमणमा संलग्न रहेका टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरीका डीएसपी पौडेलले दर्ता गराएको जाहेरीका आधारमा रामबहादुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरले साउदलाई पक्राउ गरेको हो। उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनामा रामबहादुरसँगै अन्य ५ जनामाथि पनि मुद्दा दायर गरिएको छ। टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरीका रशिद आलिखानविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। फरार रहेका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मंगलबार सशस्त्र प्रहरीले जिएसटी बिल र भारतीय भन्सार पास भएको भन्दै केही व्यवसायीका सामान जफत गरेपछि सुरु भएको विवादसँग जोडिएको छ। सो विषयमा छलफल गर्न उद्योग वाणिज्य संघका प्रतिनिधिहरू बीओपी पुगेका बेला बुधबार एक समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो।
पछि आवश्यक कागजात पुष्टि भएपछि जफत गरिएका सामान उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई फिर्ता गरिएको थियो।
यस घटनाको थप अनुसन्धानका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले एसपी अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
कैलाली प्रहरीले पक्राउ परेका रामबहादुरसँग थप अनुसन्धान अगाडि बढाउँदै फरार रहेका अन्य ५ जनाको खोजी कार्य जारी राखेको जनाएको छ।