सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा द्रुत डाँक सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । हुलाक सेवा विभागद्वारा बिहिबार आयोजित द्रुत डाँक सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय(सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा सरोकारवालाहरूबीच सेवाको गुणस्तर, विस्तार र प्रभावकारिताबारे गहन छलफल गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सेवामा सुधार र नवप्रवर्तन आवश्यक रहेको उल्लेख गरिन् । उनले भनिन्, “हुलाक सेवा विभागलाई समय-सापेक्ष बनाउँदै जनताको अपेक्षा अनुसारको सेवा दिन हामी प्रतिबद्ध छौं । सेवामा गुणस्तर सुधार र विश्वसनीयता बढाउनु हाम्रो मुख्य लक्ष्य हो ।” हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले हुलाक सेवाको विगत र बर्तमानबारे जानकारी गराएका थिए । त्यसैगरी शाखा अधिकृत शालिकराम बस्यालले द्रुत डाँक सेवाको प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले ग्रामीण क्षेत्रमा सेवा विस्तारमा जोड दिए । उनले भने, “दूरदराजका नागरिकलाई समेत छिटो र सहज सेवा पुर्याउन स्थानीय सरकारसँग समन्वय गर्दै सेवा विस्तार गर्नु आवश्यक छ ।”
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले सेवा प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले भने, “सार्वजनिक सेवामा विश्वसनीयता कायम गर्न पारदर्शिता र जवाफदेहिता अत्यन्त महत्वपूर्ण हुन्छ । हुलाक सेवाले जनताको विश्वास जित्ने गरी सुधार गर्नुपर्छ ।” कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको प्रभावकारिता बढाउन सुझावहरू प्रस्तुत गरेका थिए ।
सहभागीहरूले सेवा विस्तार, जनचेतना अभिवृद्धि र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले ब्यक्त गरेका थिए ।