पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५, डिजेल र मट्टितेलमा १० रुपैयाँ बढ्यो

आइतबार, चैत १, २०८२

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

निगमले जारी गरेको सूचनाअनुसार वृद्धि भएको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ।
नयाँ मूल्य अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ। दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य १५१ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

निगमले अमेरिका–इजरायल–इरानबीच बढ्दो अन्तर्राष्ट्रिय तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिबीच बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको हो। यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।”

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  २२:२६
प्रतिक्रिया दिनुहोस्