बारामा सशस्त्र प्रहरीको उत्सव: उत्कृष्ट युनिट बनेको खुसीयाली र्‍याली

शनिबार, माघ १०, २०८२

बारा। सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा उत्कृष्ट युनिट ट्रफी प्राप्त गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त ट्रफीसहित बाराको सदरमुकाम कलैयामा भव्य र्‍याली निकालेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीलाई उत्कृष्ट युनिट ट्रफी प्रदान गरिएपछि गणको नेतृत्व, कार्यक्षमता र उपलब्धिको सम्मानस्वरूप र्‍याली आयोजना गरिएको हो। र्‍यालीमा सशस्त्र प्रहरीका अधिकारी, जवान तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

एक वर्षको छोटो कार्यकालमै एसपी खुमबहादुर केसीको इमानदारिता, लगनशीलता तथा संगठन र राष्ट्रप्रतिको समर्पणका कारण नम्बर १२ गणले उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ। उहाँको नेतृत्वमा गणले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको छ।

गणले करोडौँ रुपैयाँभन्दा बढी मूल्यका अवैध तस्करीका सामानहरू बरामद गर्नुका साथै लागुऔषध कारोबारविरुद्ध प्रभावकारी कारबाही सञ्चालन गर्दै आएको छ। त्यसैगरी मानव बेचबिखन नियन्त्रण, अवैध हातहतियार तथा गोलाबारुद बरामद, सीमा सुरक्षामा कडाइ जस्ता कार्यहरू पनि तारिफयोग्य रहेका छन्।

विपद् व्यवस्थापनतर्फ समेत नम्बर १२ गण सक्रिय देखिएको छ। बाढी, आगलागी तथा अन्य प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनामा खेलेको भूमिकालाई स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्। साथै सीमावर्ती क्षेत्रका नागरिकको सहजताका लागि शौचालय र प्रतीक्षालय निर्माणजस्ता जनमुखी कार्यहरू समेत गणको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।

स्थानीयवासीका अनुसार एसपी केसीको नेतृत्वमा सशस्त्र प्रहरी र जनताको सम्बन्ध अझ सुदृढ बन्दै गएको छ। उत्कृष्ट कार्यसम्पादनका आधारमा प्राप्त ट्रफीले नम्बर १२ गणको मनोबल थप उच्च बनाएको र आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने प्रेरणा मिलेको गणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्