सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ ।
खजुरारोडस्थित होटल पौवामा शनिवार आयोजित प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै युनाइटेड प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रथम स्थान प्राप्त गरेको युनाइटेड एजुकेसन एकेडेमीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी जनसेवा (जेएस) सेकेन्डरी स्कुल द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय हुँदै १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भए । रामजानकी मावि, स्प्रिङ डेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्स सान्तवना भएका छन् । सान्तवना हुने विद्यालयहरुले जनही ५ हजार ५५० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी हुने विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाइँ, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य एकनारायण पौडेल लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । चर्चित मोडेल तथा नायिका अञ्जली अधिकारी र स्मृति तिमिल्सेनाले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक कमलेश शाहले जानकारी दिए ।
उद्घाटन सत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख चौलागाइँले यस्ता प्रतियोगिताले बालबालिकामा रहेको अतिरिक्त प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयहरूले किताबी ज्ञानलाई मात्र प्राथमिकता नदिई विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान र विकास गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्याब्सनका केन्द्रीय सदस्य पौडेलले निजी विद्यालयहरुले विद्यार्थीहरूको अतिरिक्त प्रतिभा पहिचानलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै त्यसको पुष्टि प्याब्सन बाँकेको नृत्य प्रतियोगिताले गरेको बताए ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि प्याब्सनले नियमित रुपमा नृत्य प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्रकुमार आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम प्याब्सन बाँकेका सचिव लक्ष्मण सिंहले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शरदचन्द्र रावलले राखेको जिल्ला कोषाध्यक्ष प्रवीण गिरीले जानकारी दिए ।