सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बाँकेले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार वृह्त नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता नेपालगन्ज–खजुरा रोडमा अवस्थित होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
प्याप्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार प्रतियोगितामा बाँके जिल्लाका ४० वटा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ। विद्यालयस्तरका विद्यार्थीहरूमा लुकेका निहित प्रतिभालाई पहिचान र उजागर गर्नु, उनीहरूलाई राष्ट्रिय मञ्चतर्फ अग्रसर गराउनु तथा सिर्जनशील गतिविधिमार्फत आत्मविश्वास विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
अध्यक्ष बज्राचार्यले यस्ता प्रतियोगिताले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिने संस्कार विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। साथै, विद्यार्थीहरूलाई आफ्नो मौलिक कला प्रस्तुत गर्ने अवसर प्रदान गर्दा स्थानीय कला, संस्कृति, लोकनृत्य तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान विद्यार्थी तथा समूहलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। आयोजकका अनुसार प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ तथा सान्त्वना हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट प्रस्तुति दिने विद्यालयलाई समेत विशेष सम्मान गरिने तयारी गरिएको छ।
प्रतियोगिताको मूल्यांकन नृत्य, संगीत र कला क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त निर्णायक मण्डलले गर्नेछ। निर्णायकहरूले प्रस्तुति, तालमेल, मौलिकता, भाव–अभिव्यक्ति र मञ्च व्यवस्थापनलगायतका मापदण्डका आधारमा मूल्यांकन गर्ने आयोजकले जनाएको छ।
प्याप्सन बाँकेले यस किसिमका सिर्जनात्मक तथा प्रतिभामूलक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको र आगामी दिनमा पनि विद्यार्थी लक्षित विविध कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ। प्रतियोगिता दर्शकका लागि खुला रहने र अभिभावक, शिक्षक, शिक्षा क्षेत्रका सरोकारवाला तथा कला–संस्कृतिप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।