सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन्। आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका छन्।
महामन्त्री थापाले विगतमाझैँ अहिले पनि देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको र त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको उल्लेख गरे। उनले देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएकाले पार्टीका नेता तथा कार्यकर्ताहरूले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए। ठिक ढङ्गले काम गर्न सके निर्वाचन आफैँ जितिने उनको विश्वास छ। महामन्त्री थापाकाअनुसार राम्रो काम गर्नसके मतदाताहरू आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताएका छन्। उनले नेपाली कांग्रेसलाई मतले पछ्याउनसक्ने बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले भने, 'नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातिय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ। आज फेरि एक पटक नेपाललाई सम्हाल्ने कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली कांग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी कांग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ। चुनाव आफैँ जितिन्छि। चुनाव चुनाव भन्नै पर्दैन, आफैँ आउँछ। मतदाताले आफैँ पछ्याउँदै आउँछ, भोटले आफैँ पछ्याउँदै आउँछ। हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन। भोटले हामीलाई पछ्याउने बनाउन सक्नुपर्छ। मतले हामीलाई पछ्याउनसक्ने बनाउनुपर्छ।'
महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि स्पष्ट पारेका छन्। उनले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए। नागरिकमा रहेको आक्रोश र असन्तुष्टिलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको उनको भनाइ छ।