कांग्रेस बाँके: तीनै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका आकांक्षीहरूको नाम सिफारिस

बुधबार, मंसिर २४, २०८२

नेपालगन्ज । नेपाली कांग्रेसका विभिन्न जिल्लामा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ । बाँके क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ ले आफ्ना–आफ्ना क्षेत्रमा प्रतिष्पर्धाका लागि आकांक्षी नेताको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेका छन् ।

Honor x7 pad

बाँके क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्यका लागि पाँच जना नेताको नाम सिफारिस गरी जिल्ला समितिमा पठाएको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधव राम खत्री र कांग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपानेको नाम सिफारिस भएको छ ।

बाँके क्षेत्र नम्बर २ बाट पनि पाँचै जनाको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाइएको बताइएको छ । पूर्व जिल्ला सभापति तथा पूर्व मन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदिप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य मो। याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ताको नाम पठाइएको छ ।

क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य जितेका सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधि सभा सदस्य आशा विक, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, मेघराज वली, टेकबहादुर खड्का र देवराज खत्री तथा महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइलीको नाम सिफारिस गरिएको छ ।

अब जिल्ला कार्यसमितिले प्रदेशमा आकांक्षी उम्मेदवारहरुको नाम पठाउने जिल्ला सचिव कोइरालाले बताए । आज जिल्ला कार्यसमितिको वैठक बसिरहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्