सर्वसम्मत उम्मेदवार सिफारिस भएका डा. शर्मा: ‘जनताको इमान्दारीपूर्वक सेवा मेरो मुख्य प्रतिवद्धता’

सोमबार, मंसिर २२, २०८२
Honor 600 pro

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा  सर्वसम्मत सिफारिस भएका छन् । मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका डा. शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन्।

नेता शर्माले आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेसले मोरङ-३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. शर्माले देशभरका १६४ क्षेत्रले मोरङ-३ को सर्वसम्मत सिफारिसलाई 'रोल मोडल' को रुपमा मानेर अघि बढ्न आह्वान गरे। उनले भने “देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित कांग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्छ। नेपाली कांग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठूलो सफलता हो।”

उनले आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएपनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन्। उनले मोरङ- ३ का सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवादको पात्र बताए।

प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट नेपाली कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो। क्षेत्रीय समितिको बैठकले डा. शर्मालाई आगामि हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै उनी नेपालभर नै नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने पहिलो नेता समेत बनेका छन्। कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीनजनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाए पनि मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन्।

उता निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताउँदै उनलाई मन्त्री बन्ने आशिर्वाद दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्