नेपालगन्ज-दिल्ली सिधा हवाई उडान: सरकारको ध्यानाकर्षण

सोमबार, मंसिर २२, २०८२

नेपालगन्ज । निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगन्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । 

Honor x7 pad

उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे। 

अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए । 

“राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन”, उनले भने । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए ।

सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठुलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापन पत्र बुझाएको थियो । रासस।

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्