सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिन अति आवश्यक देखिएको बताएका छन्। नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा आयोजना गरिएको 'कानून र पत्रकारिता: अभिमुखीकरण कार्यक्रम' को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकोले पत्रकारहरुले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
उनले अदालत सम्बन्धि सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको धर्म रहेको बताए । सही सूचना सम्प्रेषण नहुँदा त्यसले जनतामा भ्रम पैदा गर्ने ज्ञवालीको भनाई छ । सही सूचनाले मात्र जनतालाई सुसूचित गर्ने अधिकार स्थापित गर्ने उनले बताए । अहिले तथ्यगत सूचना भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती बनेको उनको भनाई छ । उनले अदालतसंग जोडिएका सवालमा तथ्यगत समाचार सम्प्रेषण गर्न आग्रह गरे । ज्ञवालीले अदालती टर्मिनोलोजी केही फरक हुने भएकाले पत्रकारले त्यसबारेमा ज्ञान राख्नैपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङबारे ज्ञान हुन जरुरी रहेको बताए । उनले अदालती ज्ञान नहुँदा जनतामाझ फरक सूचना जाने गरेको तथ्य प्रस्तुत गरे । बिधागत पत्रकारिताका लागि यस्ता अभिमुखीकरण महत्त्वपूर्ण रहेको उनको भनाई छ । पत्रकारका लागि कानुनी ज्ञान अत्यन्तै जरुरी रहेको पनि उनले औंल्याए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानुनको बारेमा पत्रकारहरुको क्षमता बढाउन अभिमुखीकरण गरिएको बताए । उनले यो कार्यक्रमले कानुनी रिपोर्टिङ्गमा पत्रकारलाई थप ज्ञान हासिल हुने बिश्वास व्यक्त गरे । उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीले अभिमुखीकरण कार्यक्रमले कानुनी रिपोर्टिङ्गमा पत्रकारहरुलाई सहजता हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङ्गका बारेमा अधिवक्ता विकास आचार्यले सहजीकरण गरेका थिए ।
कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजबादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायत चार दर्जन बढी पत्रकारहरुको सहभागिता थियो । प्रमुख अतिथि ज्ञवालीले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको संचालन पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।