चुनाव नजिकिँदै, सहमहामन्त्री राठौरको सरकारलाई कडा सन्देश- ‘सुरक्षालाई प्राथमिकतामा राख’

शुक्रबार, मंसिर १९, २०८२

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।

काँग्रेसको वर्दिया क्षेत्र नम्वर–२ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले काँग्रेसले चुनावको तयारी थालेको तर शान्ति सुरक्षाको आवश्यक व्यवस्था हुन नसकेको बताए। उनले निर्वाचन सुनिश्चित गर्न सरकारले सुरक्षा लगायतका प्रवन्ध तत्काल गर्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री राठौरले केन्द्रीय समितिको निर्णय अनुरुप पार्टीले महाधिवेशनको तयारी थालेको बताउँदै महाधिवेशनले आमनिर्वाचनमा पार्टीलाई कसरी सघाउ पुर्याउँछ भन्नेमा सबै काँग्रेसजन गम्भीर र जिम्मेवार हुनुपर्ने बताए । सहमहामन्त्री राठौरले महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाउन पार्टीका सबै तहका नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताए ।

उनले पार्टीलाई पुनर्ताजगी गराई सँगठनलाई चलायमान बनाउने र निर्वाचनबाट पार्टीलाई थप बलियो बनाउन महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ताले सोच्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्