सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने भएका छन्। एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म चल्नेछ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन्। यी स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए। एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्सले पनि स्वयंसेवाको समन्वय गर्नेछ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा करिब दुई लाख जनसहभागिता को क्षमता गरिएको संयोजक ढकालले उल्लेख गरे। उनले उद्घाटनका दिन पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने जानकारी दिए।
यसैबीच, एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार उद्घाटनस्थल (सल्लाघारी) को अवलोकन गरेको छ। महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहनेछन्।