सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ ।
आयोगले अधिकारीलाई नियन्त्रणमा लिएर आज विशेष अदालतमा उपस्थित गराएको हो । अख्तियार स्रोतका अनुसार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा अभियोगपत्र दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । अभियोगपत्रसहित अधिकारीलाई अदालतमा पेस गरिएको आयोगका एक अधिकारीले बताएका छन् ।
यसै प्रकरणमा क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर गर्ने प्रयोजनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । स्रोतका अनुसार दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
यसअघि कात्तिक ३ गते साँझ अधिकारीमाथि ललितपुरको सातदोबाटो क्षेत्रबाट घर फर्किने क्रममा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाहीका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
अख्तियारले नलिन्चोक हेलिकप्टर काण्डसँग जोडिएको भ्रष्टाचारबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।