सशस्त्र प्रहरीका १९२ प्राविधिकलाई बढुवा, २८ सयभन्दा बढीको वृत्तिविकास सुरु

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएसँगै सशस्त्र प्रहरी बल नेपाल भित्र कार्यरत प्राविधिक समूहका १ सय ९२ जना सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासमा महत्त्वपूर्ण सम्बोधन हुने भएको छ ।

लामो समयदेखि—करीब १५/१६ वर्षसम्म—एउटै दर्जामा कार्यरत प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका आधारभूत तहका १९२ सशस्त्र प्रहरी जवानहरूले बढुवा प्राप्त गरेका छन् । यस निर्णयले प्राविधिक जनशक्तिमा देखिँदै आएको निरुत्साह हटाउँदै सेवाप्रति थप हौसला प्रदान गर्ने विश्वास संगठनले व्यक्त गरेको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन कार्यान्वयनपछि हाल रिक्त रहेको करिब २८ सयभन्दा बढीले विभिन्न पदमा समेत क्रमशः वृत्तिविकास सम्बोधन हुने जनाएको छ । संगठनले अन्य रिक्त पदहरूमा पनि चरणबद्ध रूपमा बढुवा प्रक्रिया अघि बढाइरहेको बताइएको छ ।

यसैबीच, संगठनले आचरणविपरीत गतिविधि गर्ने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने सशस्त्र प्रहरी कर्मचारीमाथि नियमानुसार कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ । संगठनले अनुशासन, जिम्मेवारी र व्यावसायिकता कायम गर्दै सेवा प्रभावकारिता बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्