पुस २६ देखि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत

सोमबार, मंसिर १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको छ ।गत असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ः४५ बजेदेखि केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा पुनः बसेको हो । 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका छन् । उनले वडातहदेखिकै कार्यतालिका प्रस्तुत गरेका हुन् । 

जेन–जी आन्दोलनका कारण पार्टीका थप कार्य गर्न नसकेको भन्दै खड्काले विधानको धारा ४३ बमोजिम मंसिर २४ देखि माघ मसान्तसम्म थप्ने निर्णय प्रस्तुत गरेका छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवारको नाम सिफारिसका लागि मंसिर मसान्तभित्र केन्द्रमा आइपुग्ने गरी आजै सर्कुलर जारी गरिने उनले बताए । 

प्रत्यक्ष र समानुपातिकको नाम एकैठाउँमा बसेर टुंगो लगाउनेसमेत निर्णय भएको उनले बताए । 

पटक पटक सहमति नहुँदा बैठक सरे पनि संस्थापन इतर पक्षले कुनै पनि हालतमा प्रतिनिधि सभाको निर्वाचनअघि महाधिवेशन हुनैपर्ने रटान लिएपछि बाध्य भएर संस्थापन लचिलो भएको हो । 

नियमित महाधिवेशन नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन तीन महिनाभित्र गर्ने प्रावधान विधानमा छ । सो अनुहार दबाब बढेपछि पटक पटक अनौपचारिक छलफल चलाएर सहमति भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्