सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर, २४५ स्थानीयले पाए सेवा

सोमबार, मंसिर ८, २०८२

काठमाडौं ।  सशस्त्र प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–५ स्थित काउले बजारमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। सशस्त्र प्रहरीको यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र ककनी गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Honor x5c

स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र नजिकमै उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा विविध स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

शिविरमार्फत ११५ महिला र १३० पुरुष गरी कुल २४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। नेपाल एपीएफ अस्पतालबाट विशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा. कौशल राज काफ्ले नेतृत्वको २१ सदस्यीय टोली तथा ककनी गाउँपालिकाका डा. सरोज बी.सी. नेतृत्वको ९ जनाबाट सेवा प्रदान गरिएको थियो।

शिविरमा दन्त, स्त्रीरोग (गाइनो), छाला रोग, आँखा, साधारण सल्यक्रिया, नाक–कान–घाँटी, हाडजोर्नी तथा स्नायु सम्बन्धी रोगको उपचारसहित एक्स–रे सेवा समेत उपलब्ध गराइएको थियो। आयोजकका अनुसार यसले दूरदराजका स्थानीयवासीलाई समयमै स्वास्थ्य सेवा पाउन महत्वपूर्ण सहयोग पुगेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्