सिमराको तनावबारे प्रधानमन्त्री कार्कीले भनिन् - अराजकता स्वीकार्य छैन

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं  । बाराको सिमरामा बुधबार उत्पन्न अशान्ति र हिंसात्मक घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर ध्यानाकर्षण गराउँदै कडा प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले लोकतन्त्रमा अराजक चरित्रको कुनै स्थान नभएको प्रष्ट पारेकी छन्।

Honor x5c

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सिमरामा देखिएको तनाव अत्यन्त दुःखजनक भएको बताइन्। “कानुनी सीमाभित्र रहेर असन्तुष्टि व्यक्त गर्नु नागरिकको अधिकार हो, तर अराजक गतिविधि लोकतान्त्रिक व्यवस्थामा सह्य हुँदैन,” उनले उल्लेख गरिन्।

युवाहरूको असन्तुष्टि र राजनीतिक तनावलाई सरकारले संवेदनशील भएर लिइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको दायित्व भए पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, विमानस्थलमा अवरोध गर्ने वा सुरक्षा व्यवस्थालाई कमजोर पार्नेजस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिइन्।

प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा संयन्त्रलाई शान्ति–सुरक्षा मजबुत बनाउन, राजनीतिक नेताहरूको सुरक्षित आवाजाइ सुनिश्चित गर्न तथा आसन्न निर्वाचनलाई निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गराउने तयारीमा सतर्क रहन निर्देशन पनि दिएकी छन्।

उनका अनुसार युवाहरूका अपेक्षा र मागहरू लोकतान्त्रिक प्रक्रियामार्फत नै सम्बोधन हुनसक्छन्। उनले सबै पक्षलाई उत्तेजनात्मक गतिविधिबाट टाढा रहन र संयमता अपनाउन आग्रह गरिन्।

बुधबार जेनजी समूहका युवाहरूले एमाले नेताहरूको सिमरा भ्रमण अवरुद्ध गर्ने प्रयाससहित प्रदर्शन गरेपछि क्षेत्र तनावग्रस्त बनेको थियो। झडप तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गर्नुपरेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह