सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। हुम्लाको सिमकोट–नेपालगन्ज हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयको पहलमा नयाँ वितरण तालिका लागू भएको छ।
यो तालिकाअनुसार सिमकोट विमानस्थलमा उडान भर्ने एयरलाइन्सका प्रत्येक उडानमा बिरामीका लागि दुई हवाई टिकट अनिवार्य वितरण गर्नुपर्ने सम्झौता गरिएको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले हवाई टिकट वितरणमा देखिएको अनियमितता हटाउन यो निर्णय गरेको हो।
१५ सिट क्षमताको जहाजमा दुई टिकट अनिवार्य बिरामीलाई वितरण गरिनेछ भने तीन टिकट जिल्ला प्रशासन कार्यालयले सरकारी कर्मचारीका लागि सिफारिस गर्नेछन्। यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयले वडा कार्यालयको सिफारिसमा एक–एक टिकट आरक्षण पाउनेछन् र बाँकी टिकट एयरलाइन्सले अनलाइन र प्राथमिकताका आधारमा वितरण गर्नेछन्।
यो निर्णयसँगै हवाई टिकट वितरणमा अनियमितता भएको भन्दै तीन निजी एयरलाइन्सका कार्यालयमा युवाहरूले लगाएको ताला खोलिएको छ।