शान्तिपूर्ण आन्दोलनलाई हिंसामा बदल्ने काम नवयुवाहरुले गर्नै नसक्ने एमाले महासचिव पोखरेलको दाबी

शनिबार, कात्तिक २९, २०८२

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा बदल्ने काम नवयुवाहरुले गर्नै नसक्ने बताएका छन् ।

Honor x5c

नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा आज नेपालगञ्जमा भएको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत भदौ २४ गते मच्याइएको विध्वंशमा सहभागी भएकाहरुको पहिचान गरी दण्डित गर्नुपर्ने बताए ।

उक्त विध्वंश नवयुवाहरुको आवरणमा गरिएको पोखरेलको भनाई छ । महासचिव पोखरेलले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको पक्षमा थालिएको शान्तिपूर्ण जेनजी आन्दोलनमा मानव ढाल बनाएर विध्वंश मच्चाइएको बताए । उनले वर्तमान सरकारले चुनाव हुने वातावरण नै नबनाएको आरोप लगाए। चुनाव हुने वातावरण बने एमाले चुनावदेखि नभाग्ने भन्दै उनले भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारबाही, प्रहरीबाट लुटिएका हतियार फिर्ता र भागेका कैदीबन्दी पक्राउ नगर्दासम्म चुनावको वातावरण नबन्ने पोखरेलको जिकिर छ ।

उनले अहिलेको सरकार षड्यन्त्रको मतियार बनेको आरोप समेत लगाए । 'तर, एमाले सबै षड्यन्त्रलाई परास्त गरेर अघि बढ्छ,' उनले भने। एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको जनसभालाई पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दिपा शर्मा, एमाले बाँके उपाध्यक्ष रत्न खत्री लगायतले सम्बोधन गरेका थिए । जनसभा अघि नगरमा विशाल र्याली निकालिएको थियो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्