सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ सेवाबाट अवकाश पाएको दिनमै छानबिन आयोगले उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको भाद्र २३ र २४ का घटना छानबिन आयोगको आज बसेको बैठकले खापुङमाथि यस्तो निर्णय गरेको हो। आयोगले आयोगको स्वीकृति बिना उनले काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“सेवाबाट आजदेखि अवकाश प्राप्त नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ का घटनासम्बन्धी छानबिनका क्रममा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाईएको र आयोगको स्वीकृति बिना उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।”
आयोगले खापुङमाथि घटनासँग सम्बन्धित प्रहरी अधिकारीहरूको विवरण उपलब्ध गराउन अस्वीकार गरेको आरोप लगाउँदै आएको छ। आयोगका अनुसार, भाद्र २३ र २४ का घटनासम्बन्धी थप जानकारी आवश्यक भएकाले उनलाई छानबिनका क्रममा उपस्थित गराउन र निगरानीमा राख्न यो निर्णय गरिएको हो।