सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी नहुने स्पष्ट पारेका छन् ।
प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारका पूर्व मन्त्री एवम् गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले सुशिला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिए । उनले सर्वपक्षीय सहमति बिना मुलुकमा निर्वाचन सम्भव नभएको दाबी गरे। उनले नवयुवालाई समेत समेटेर सर्वपक्षीय सहमति गरी सरकार गठन गर्न सके मात्र निर्वाचन सम्भव हुने दाबी गरे।
अधिकारीले निश्चित अवधिका लागि संसद पुनःस्थापना गरी संविधानमा आवश्यक संशोधन गरेर एक पटकलाई संसद बाहिरको ब्यक्ति पनि प्रधानमन्त्री हुने ब्यवस्था गर्न सके अहिलको गतिरोधको हल हुने जिकिर गरे । राजनीतिक दलको मुख्य नेतृत्वसंग संवादै गर्न नचाहने सरकारले निर्वाचन गर्न नसक्ने अधिकारीको जिकिर छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग बनाएर अघि बढ्न एमालेलाई आपत्ति नरहेको भन्दै उनले प्रतिशोध साँधेर सही ठाउँमा पुग्न नसकिने बताए ।
भदौ २४ गते भएको विध्वंश नियोजित भएको बताउँदै उनले आपराधिक गतिविधिमा संलग्नहरुमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्यहरु मो। हारुन, सूर्य ढकाल लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेलले गरेका थिए ।