सीमामा बढ्यो कडाइ: बदलिँदो सुरक्षा चुनौती र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीका एसएसपी खटाइयो

बुधबार, कात्तिक २६, २०८२
honor २२ sept

काठमाडौं । बदलिँदो सुरक्षा चुनौती र राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले प्रमुख सीमा नाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई खटाएको छ।

प्रधान कार्यालयका अनुसार खटाइएका एसएसपीहरूले सीमा क्षेत्रमा राजश्व चुहावट, चोरी–निकासी, पैठारी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने, सम्बन्धित निकायसँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र दैनिक प्रतिवेदन महानिरीक्षकको सचिवालयमा पठाउने व्यवस्था मिलाइएको छ।

कोशी प्रदेशमा एसएसपी दिगविजय सुवेदी, मधेशमा माधव प्रसाद पौडेल, लुम्बिनीमा रविनराज कर्णजीत र सुदूरपश्चिममा गंगाराम श्रेष्ठलाई जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ। जसमध्ये कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न  एसएसपी सुवेदी (फोन नम्बर ९८५१००१९४२) तथा मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न  एसएसपी  पौडेल (फोन नम्बर ९८५१२६००२७) लाई खटाइएको हो।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी  कर्णजीत (फोन नम्बर ९८५१२५९६१७) र सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी  श्रेष्ठ (फोन नम्बर ९८५१२६७७७७) लाई खटाइएको  सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सर्वसाधारणले उनीहरूलाई माथि उल्लेखित फोन नम्बरमार्फत प्रत्यक्ष सम्पर्क गरी सीमा क्षेत्रमा हुने अवैध गतिविधि बारे जानकारी दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्