९५ लाखको मोबाइल पार्ट्ससहित दुई जना धनगढीबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, कात्तिक २६, २०८२
honor २२ sept

कैलाली। सशस्त्र प्रहरीले कैलालीबाट ९५ लाख रुपैयाँ बढीको मोबाइल पार्ट्ससहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट ३३ वर्षीय सन्तोष चौधरी र भारतका २५ वर्षीय आशुतोष कुमार गुप्तालाई ९५ लाख ५५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरुमध्य  सन्तोष सोही उपमहानगरपालिका–१९ खेदाका हुन् भने आशुतोष भारत घर भएर शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक हुन् ।

सन्तोषले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले उक्त सामाग्री र मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

नियन्त्रणमा आएका सन्तोषले भातरबाट अवैध रुपले ल्याएको मोवाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए।

सो पश्चात प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोवाइल पार्ट्ससहित सप्लायर्सका संचालक आसुतोषलाई समेत नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ।

बुधबार राति  नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गरिएको सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको  सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्