कांग्रेस नेता गिरीले भने- मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ

मंगलबार, कात्तिक २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले कांग्रेस संसद पुनःस्थापनाको पक्षमा लाग्नुपर्ने बताएका छन् ।

Honor x5c

'प्रधानमन्त्री हुन वा मन्त्री हुन संसद पुनःस्थापना गर्न चाहेको होइन,'गिरीले भने-'जनताका असन्तुष्टिहरुलाई समावेश गरी संविधान संशोधन गर्दा राम्रो होला भन्ने मेरो सुझाब हो । यसबारे  चालू केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक धारणा बनाउन म आग्रह गर्न चाहन्छु ।'

गिरीले महाधिवेशन प्रतिनिधिहरुको भावनाको सम्मान गर्दै मंसिर महिनाभित्रै नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्ने धारणा राखे । 'उक्त महाधिवेशनबाट समय सुहाउँदो, युवाहरुको आकांक्षालाई समेत प्रतिनिधित्व गर्ने खालको नीति र कार्यक्रम  पारित गर्नुपर्छ,' गिरीले आफ्नो धारणा राख्नेक्रममा भने-'यही स्थितिमा चुनावमा गएर के भन्ने ? नसुध्रिएको कांग्रेसलाई जनताले किन भोट दिने?  हाम्रा कमीकमजोरीका लागि क्षमा माग्दै अब कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यक्रमसहित जनताको घर दैलोमा जानुपर्छ । महाधिवेशन गर्ने सवालमा मंसिर र बैशाख भनेर लोक हँसाउने काम नगर्न उनको आग्रह छ । उनले 'बिजनेस एज युजुएल'  गरेर अब पार्टी र मुलुक दुबै नचल्ने यथार्थ मनन गर्नुपर्ने संगिन बेला आइसकेको बताए ।

केन्द्रीय सदस्य गिरीले गत निर्वाचनमा नेपाली काँग्रेस र अन्य दलसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवारलाई अनुशासन समितिबाट कारबाहीको सिफारिस गरिनु अनुपयुक्त भएको भन्दै वर्तमान राजनैतिक परिस्थितिलाई मनन गरी आममाफी दिन माग गरे। गिरीले जेन-जी आन्दोलनमा अमूल्य जीवन गुमाएका सबै युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । गिरीले उपचारका क्रममा सिंगापुरमा रहेका पार्टी सभापति शेर बहादुर देउबा र उनकी धर्मपत्नी केन्द्रिय सदस्य आरजु राणा देउबाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्  । 

केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै विघटित प्रतिनिधिसभाका सांसद समेत रहेका गिरीले असंवैधानिक कदम सच्याउन र संविधान संशोधन लगायत जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न कांग्रेस पनि संसद पुनःस्थापनाको पक्षमा लाग्नुपर्ने आवाज उठाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्