निर्वाचनअघि नै नेपाली कांग्रेसको महाधिवेशन गर्न माग गर्दै बुझाइयो ज्ञापनपत्र

शनिबार, कात्तिक २२, २०८२
Honor 600 pro

काठमाडौं। नेपाली कांग्रेसका केही नेताहरूले आज केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउँदै आगामी फागुन २१ गतेको आम निर्वाचनअघि नै पार्टीको आवधिक महाधिवेशन गर्न माग गरेका छन्।

कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाइएको ज्ञापनपत्रमा २४ जना नेताको हस्ताक्षर रहेको छ। उपत्यकामा उपलब्ध कांग्रेसका सम्पर्क समिति सभापतिहरूका तर्फबाट ज्ञापन बुझाउँदै नेताहरूले पार्टीको विधानमा हरेक चार वर्षमा आवधिक महाधिवेशन गरिनुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन्।

उनीहरूले देशमा विषम राजनीतिक परिस्थिति उत्पन्न भएको र आम निर्वाचन दुई वर्षअगावै आएको सन्दर्भमा निर्वाचनमा भाग लिनुअघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन गर्न जोड दिएका छन्।

ज्ञापनपत्रमा उल्लेख छ, 'यदि युवा पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व चयन गरी युवा पुस्ताको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएन भने यथास्थितिमा कांग्रेसको भविष्य अन्धकार मात्रै होइन, औचित्य विहिन बन्न सक्छ।'

मागकर्ता नेताहरूले महामन्त्रीद्वारा प्रस्तावित मिति २०८२ पौष १६ देखि १९ मा १५औँ महाधिवेशन गर्न राखिएको प्रस्तावलाई ऐक्यबद्धता जनाएका छन्। साथै, उनीहरूले नियमित महाधिवेशन गर्न नसकेमा विधानको व्यवस्था अनुसार निर्वाचन अगावै विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्