संगठन सुदृढीकरण र युवा परिचालनलाई अगाडि बढाउने एमाले बाँकेको निर्णय

सोमबार, कात्तिक १७, २०८२
honor २२ sept

नेपालगन्ज । जेन-जी आन्दोलन र त्यसपछिको अवस्थालाई मध्यनजर गरेर नेकपा एमाले बाँकेको छैठौं पूर्ण बैठकले संगठन सुदृढीकरण र युवा परिचालनलाई अगाडि बढाउने निर्णय गरेको छ ।

X7D

नेपालगन्जमा दुई दिनसम्म चलेको जिल्ला कमिटीको पूर्ण बिस्तारित बैठकका निर्णयहरु आज नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै एमाले बाँकेले विषम् परिस्थितिको आत्मसमिक्षा र जनअपेक्षाको सम्बोधन समेत गरेर अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको जनाएको छ ।

जिल्ला कमिटीको कार्तिक १५ र १६ गते बसेको पूर्ण बिस्तारित बैठकका निर्णय एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले सार्वजनिक गरेका थिए । केन्द्रिय सदस्य सूर्य ढकालले एमालेलाई एकताबद्ध बनाएर लैजाने केन्द्रिय कमिटीकै निर्णय भएकाले त्यही अनुसार पार्टी अगाडि बढेको बताए । उनले जेन-जी आन्दोलनका क्रममा २४ गते भएको तोडफोड र आगजनीका दोषीलाई कारबाही गरिनुपर्ने अडानमा पार्टी रहेको बताए । कार्यक्रममा केन्द्रिय सदस्य शान्ति ढकाल, केन्द्रिय सदस्य दीपा शर्मा, एमाले लुम्बिनी प्रदेश सदस्य घननाथ खनाल, लुम्बिनी कमिटी सदस्य मीना ढकाल लगायतका नेताहरु उपस्थिति थिए । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिब बलराम भट्टराईले गरेका थिए ।

यस्ता छन् बैठकका मुख्य निर्णय तथा निष्कर्षहरु

१. आत्मसमिक्षा र जनअपेक्षा सम्बोधनः

- संघीय लोकतान्त्रिक गणतन्त्रपछि सत्तामा पुगेका व्यक्ति तथा पार्टीहरुले जनअपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको आम युवाहरुको गुनासोलाई बैठकले गम्भीरतापूर्वक आत्मसमिक्षा गरेको छ ।

- यस विषयमा वस्तुनिष्ठ भएर तथ्यका आधारमा सत्य कुराहरु जनतालाई अवगत गराउने निर्णय गरिएको छ ।

२. संगठन सुदृढीकरण र युवा परिचालन:

- फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेकपा एमाले पार्टीलाई बाँके जिल्लामा जरैदेखि एकताबद्ध र सुदृढ बनाउन लैजाने ।

- भदौ २३ र २४ गतेको 'जेन-जी आन्दोलन' र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा तथा बाँके जिल्लामा नेकपा एमालेलाई थप प्रभावकारी र सशक्त कसरी बनाउने, सामाजिक रूपान्तरणको प्रश्न र हाम्रो कार्यशैलीको विषयमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्यहरु, सल्लाहकार र जिल्ला कमिटीका पदाधिकारी/सदस्यहरू गरी १४५ जना साथीहरूले आफ्ना धारणा राख्नुभएको थियो ।

नयाँ युवाहरुसँग सार्थक संवाद तथा जनभेला सम्बन्धि कार्यक्रम तालिका:

१. २०८२ कार्तिक १८ गते: वक्ताहरूको अभिमुखीकरण

नयाँ युवाहरूसँग सार्थक संवाद कार्यक्रमका लागि जिल्लाभरिबाट खटिन चाहने ८१ युवावक्तालाई अभिमुखीकरण गरिने ।

२. कार्तिक १९ गते: पालिका स्तरीय बैठक

जिल्लाका आठै पालिकाको बैठकको आयोजना गरिने ।

३. कार्तिक २२ गते: वडा स्तरीय संवाद तथा जनभेला

वडामा युवाहरुसँग सार्थक संवाद र जनभेलाको आयोजना गरिने ।

४. कार्तिक २४ गते: स्थानीय तह स्तरीय संवाद तथा जनभेला

आठै स्थानीय तहमा नयाँ युवाहरूसँग सार्थक संवाद तथा जनभेलाको आयोजना गरिने ।

५. कार्तिक २९ गते: आदर्शहरूलाई पुन:स्थापना

लोकतान्त्रिक आन्दोलनका आदर्श बीपी कोइराला, पुष्पलाल र गणेशमान सिंहको आदर्शलाई पुन:स्थापना गर्ने कार्यक्रम ।

६. कार्तिक २९: जिल्ला स्तरीय जनभेला

नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतको प्रमुख उपस्थितिमा जिल्ला स्तरीय जनभेला आयोजना गरिने ।

७. मङ्सिर २० गतेसम्म: अन्तरसंवाद

'युवा विद्यार्थीका प्रश्न हाम्रो उत्तर' अन्तरसंवाद सञ्चालन गर्ने

८. मङ्सिर १ गते: (धर्ना)

जेन-जी आन्दोलनका दोषीलाई कारबाहीको माग

जेन-जीका नाममा बाँके जिल्लामा भएका सरकारी कार्यालयको तोडफोड, आगजनी, लुटपाट गर्ने अपराधीहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिने । सरकारले बेवास्ता गरेमा प्रशासन कार्यालयमा मङ्सिर १ गते धर्ना दिइने ।

९. कार्यशाला गोष्ठी: डिजिटल सम्बन्धि कार्यशाला गोष्ठीको आयोजना गर्ने

 

नयाँ युवाहरुसँग सार्थक संवादमा उठाइने विषयहरू:

१. देश, पार्टी, लोकतन्त्र र जनअधिकारको सम्बन्ध ।

२. २००७ सालदेखि अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष सरकार सञ्चालन गर्न नसक्नुको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक कारण ।

३. २००७ सालदेखि अहिलेसम्म हरेक १०/१० वर्षमा राजनीतिक परिवर्तन तथा उथलपुथल भइरहेको सन्दर्भमा २०९२ सालमा कस्तो उथलपुथल हुन सक्छ ?

४. व्यक्तिदेखि सिंहदरबारसम्म फैलिरहेको भ्रष्टाचारको जालोलाई नियन्त्रण गर्न कस्तो विधि बनाउनुपर्छ ।

५. सामाजिक रुपान्तरणको प्रश्न भनेको के हो ?

६. बाँके जिल्लालाई 'विकास र समृद्धिको नमुना जिल्ला' कसरी बनाउन सकिन्छ ?

७. शासकीय स्वरूप र नेपालको भूराजनीतिक बनोट ।

८. राष्ट्रियता र लोकतन्त्रको प्रश्न ।

९. मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवाद।

१०. आजका युवाहरूका अपेक्षा र सपना, सबलता र दुर्बलता, सामर्थ्य र सीमाहरू के के हुन् ?

परिचालनः

यस अभियानमा केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी/सदस्यहरू लगायत सम्पूर्ण संगठित सदस्यहरु परिचालित हुनेछन् ।

निरक गुरुङ

अध्यक्ष, नेकपा (एमाले) बाँके

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्