सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मधेस प्रदेशमा सशस्त्र प्रहरीको सक्रियतामा पौने २६ करोड रुपैयाँ बढीको अवैध सामग्रीसहित करोडौं रुपैयाँको अवैध सुन बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालको कमाण्ड रहेको मधेस प्रदेशस्थित नं .२ छिन्नमस्ता बाहिनी मातहतका सशस्त्र प्रहरी कार्यालयहरुले मधेस प्रदेशभर गरेको सवा ३ महिने कारबाहीमा २५ करोड ८७ लाख ९५ हजार २२८ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो भने उक्त अवधिमा अवैध ओसारपसारमा संलग्न रहेका ३० जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नं.२ छिन्नमस्ता बाहिनीले जानकारी दिएको छ।
सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बल अन्तर्गत छिन्नमस्ता बाहिनीले सवा ३ महिनामा ६ लाख २२ हजार २८० रुपैयाँको अवैध सामग्री बरामद गरेको छ। विशेष गरेर कमाण्ड गर्ने बाहिनीले आफ्नो छुट्टै कारबाहीमा उक्त रकम बराबरको सामग्री बरामद गरेको हो।
आर्थिक वर्ष २०८२-०८३ को साउनदेखि कात्तिक १५ सम्मको अवैध ओसारपसारविरुद्धको कारबाहीमा सशस्त्र प्रहरी बल नं.६ गण सप्तरीले १ करोड ४ लाख १६ हजार ६९१ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ भने त्यस अवधिमा सिरहास्थित सशस्त्र प्रहरी बल नं.७ गणले ३ करोड १४ लाख ३० हजार ५७ रुपैयाँको सामग्री बरामद गरेको छिन्नमस्ता बाहिनीले जनाएको छ। अवैध ओसारपसारविरुद्ध सशस्त्र प्रहरी धनुषास्थित नं.८ गणले गरेको ३ महिना १५ दिनको कारबाहीमा १ करोड ४१ लाख ६७ हजार १५८ रुपैयाँक्ल अवैध सामग्री बरामद गरेको छ।
छिन्नमस्ता बाहिनी महोत्तरीका अनुसार सशस्त्र प्रहरी नं.९ गण महोत्तरीले २ करोड १ लाख ८० हजार ७३ रुपैयाँको सामग्री बरामद गर्दा नं.१० गण सर्लाहीले २ करोड ६७ लाख ४० हजार ९६७ रुपैयाँ बराबरको अवैध सामगरि बरामद गरेको हो। यसैगरी रौतहटस्थित सशस्त्र प्रहरी बल नं.११ गण रौतहटले उक्त अवधिमा २ करोड ९४ हजार ७६८ रुपैयाँको सामग्री बरामद गरेको छ।
सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र आन्तरिक सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नं.१२ गण बाराले अवैध तस्करीविरुद्ध धावा बोल्दै २ करोड ८६ लाख ८५ हजार २६६ रुपैयाँको भन्सार छलीको सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.छिन्नमस्ता बाहिनी महोत्तरीले जानकारी दिएको छ। त्यस अवधिमा नम्बर १३ गण पर्साले ९ करोड ९८ लाख ६७ हजार ३६७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो।
छिन्नमस्ता बाहिनीले दिएको जानकारी अनुसार महोत्तरीस्थित सशस्त्र प्रहरी नं.३९ रिजर्भ गणले गत साउनदेखि कात्तिक १५ गतेसम्मको अवधिमा १४ लाख १६ हजार २९० रुपैयाँ र बारास्थित नं.४० रिजर्भ गण बाराले ४९ लाख ४९ हजार ३११ रुपैयाँको अवैध सामग्री बरामद गरेको छ भने बाराको पथलैयामा रहेको राजस्व चुहावट नियन्त्रण बेशले २ लाख २५ हजार रुपैयाँ बराबर अवैध सामग्री बरामद गर्न सफल भएको छ।
अवैध हतियार बरामदतर्फ उक्त अवधिमा बारास्थित सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गर्दा मानव बेचबिखनविरुद्धको कारबाहीमा २१ जना महिलाको उद्धार गरिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीले जनाएको छ। छिन्नमस्ता बाहिनीका अनुसार धनुषा र महोत्तरीबाट ५ - ५ ,सर्लाहीबाट १ र रौतहटबाट ८ महिलाको उद्धार गरिएको हो। सशस्त्र प्रहरीले मानव बेचबिखनविरुद्धको कारबाहीमा चेलीबेटी बेचबिखनमा संलग्न रहेका १९ पुरुषलाई पक्राउ गरेको छ। त्यस अवधिमा धनुषामा ६,महोत्तरीमा ५ रौतहटमा ७ र सर्लाहीबाट एक जना पुरुष पक्राउ परेका हुन् ।
मधेस प्रदेशमा सशस्त्र प्रहरीले श्रोत नखुलेको ५२ लाख ८१ हजार १२५ नेपाली रुपैयाँ बरामद गर्दा सोही अवधिमा ७ लाख ५ हजार ६९६ भारतीय रुपैयाँ बरामद गर्दा २८ जनालाई पक्राउ गरेको छिन्नमस्ता बाहिनीले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका अनुसार प्रदेशभरबाट ३ करोड ३४ लाख ८४ हजार ७१५ रुपैयाँ ९५ पैसाको अवैध सुन र ४ लाख ५७ हजार ६७६ रुपैयाँ २६ बराबरको अवैध सुन बरामद गर्दै २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले लागुऔषधतर्फ २८ क्विन्टल ३४ किलो गाँजा,३० किलो ९४६ ग्राम चरेस, ३ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर तथा प्रतिवन्धित औषधिसहित १७ जनालाई पक्राउ गरेको छ भने उक्त अवधिमा १७ लाख ३३ हजार ३७८ रुपैयाँको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी बल नं.छिन्नमस्ता बाहिनीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीले प्रदेशभरका सीमा नाकामा २४ सै घण्टा एकल तथा भारतीय सशस्त्र सीमा बलसँग संयुक्त गस्ती आइरहदा सीमावासीहरुलाई सचेतना कक्षा दिदै आएको छ।