कसैको दबाब र प्रभावमा परेर गृहमन्त्रीलाई हटाउने निर्णय हुदैन: प्रधानमन्त्रीको सचिवालय

बिहीबार, कात्तिक १३, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई कसैको दबाबमा नहटाइने प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालय जानकारी दिएको छ।

Honor x5c

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री अर्याललाई कसैको दबाब अथवा प्रभावमा हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ- गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख रहेको छ । 

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा भनिएको छ । 

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ । 

यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई सचिवालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्