आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

बुधबार, कात्तिक १२, २०८२

काठमाडौँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदको निर्वाचन आगामी २०८२ माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ।

Honor x5c

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि उक्त मिति तोक्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णयबारे जानकारी दिए।

त्यसैगरी, मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण पनि स्वीकृत गरेको छ। कतारको दोहामा आयोजना हुने 'सेकेन्ड वर्ल्ड समिट फर सोशल डेभलपमेन्ट' विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री खरेलले बताए।

बैठकले नेपाल र मोरिसस सरकारबीच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ। साथै, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरी सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरिएको छ। मन्त्री खरेलले सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो हेरफेर गरिएको स्पष्ट पारेका छन्।

यसका अतिरिक्त, सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ। यस अन्तर्गत अब अनलाइनको दर्ता र नवीकरणसम्बन्धी निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्