आगामी फागुन २१ मा मतदान, यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका

मंगलबार, असोज २१, २०८२

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बैठकले सोमबार यो कार्यतालिका स्वीकृत गरेको हो।

Honor x5c

आयोगले 'स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव' नारासहित निर्धारित कार्यतालिकाअनुसार सबै प्रक्रिया अघि बढाउने बताएको छ। आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार निर्वाचनको प्रक्रिया यसप्रकार हुनेछस्

निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ, जसअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ) का लागि निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ।

निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ, त्यसपछि मौन अवधि सुरु हुनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ र मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतगणना सुरु गरिनेछ।

निर्वाचन प्रक्रियामा भाग लिन चाहने दलहरूका लागि आयोगले महत्त्वपूर्ण प्रावधान स्पष्ट पारेको छ। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था छ। यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने दलहरूले अनिवार्य रूपमा २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ। आयोगले निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई निरन्तरता दिने पनि बताएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्