बाँकेका सीडीओ जोशीको गैरजिम्मेवार व्यवहारप्रति नागरिक संघसंगठनले गराए ध्यानाकर्षण

सीडीओलाई गराए बनाए सचेत
मंगलबार, असोज ७, २०८२
honor २२ sept

नेपालगञ्ज ।  बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशीबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा  भएको दुव्र्यवहारको घटनाप्रति नागरिक अगुवाका संघसंगठनहरुले आपत्ति जनाएका छन्।

X7D

जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दाल बाँकेका सीडीओ जोशीले पत्रकार आचार्यलाई अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको उनीहरुले ठहर गरेका छन् । 

सीडीओ जोशीले यस अघिदेखि नै प्रेसप्रति दुर्भाव राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी व्यवहार देखाएको, नागरिक समाजका सार्वजनिक कार्यक्रम (बार, होटेल अर्गनाइजेशन लगायत) मा अशोभनीय अभिव्यक्ति दिएको, जोशीको समग्र कार्य सम्पादनप्रति निरन्तर प्रश्न उब्जिएकोे विभिन्न घटनाक्रमले देखाएको छ । “अभिभावकीय भूमिकामा रहेको सार्वजनिक व्यक्तित्वले गर्ने व्यवहार नागरिकमैत्री हुनुपर्छ, - आज संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले भनेका छन्–“मुस्कानसहितको सेवा प्रवाह गर्ने दायित्व प्रत्येक सरकारी अधिकारीको हो तर पछिल्ला दिनहरूमा स्वयं प्रमुख जिल्ला अधिकारी जोशीले नै आफ्नो पदीय जिम्मेवारीलाई बिर्सिएर सरकारले लिएको नीतिको नै अवज्ञा गरेको देखिएको छ ।” आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नगर्न उनीहरुले सचेत समेत पारेका छन् । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

त्यसैगरी नेपाल मानव अधिकार संगठन बाँकेका सभापति प्रल्हाद बहादुर कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, विकासका लागि नागरिक सरोकार समिति नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, होप ट्रेनिङ एण्ड रिचर्स सेन्टरका निर्देशक सुरेश गौतम,  त्रिवि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शुशिल लामिछाने, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल,  प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशिल पत्रकार संघका उपाध्यक्ष तिलक गाउँले, भ्वाइस नेपालगन्जका अध्यक्ष रमेश सिटौला र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्रले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसीले प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको बताएका छन् । सामाजिक संजालमा प्रतिक्रिया दिँदै उनले प्रमुख जिल्ला अधिकारीलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक ब्यवस्था छ भन्ने कुरा हेक्का राख्न पनि सुझाएका छन् । उनले भने- "यो लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था हो, तपाईं तानाशाह बन्ने सोचबाट मुक्त हुनुहोस् । लोकतन्त्रमा सबै समान हुने भएकाले सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक्नुहोस् ।"

उनले पत्रकार मात्र नभर जनप्रतिनिधि, दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत सीडीओले हुर्मत लिने र मानमर्दन गर्ने काम गरेको टिप्पणी गरेका छन् । केसीले भने- लोकतन्त्रमा सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्नुपर्दछ भन्ने सामान्य व्यहोरा समेत ख्याल नगर्ने सिडिओले पत्रकारलाई मात्रै होइन, धेरै जना जनप्रतिनिधि, राजनैतिक दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत पटक-पटक हुर्मत लिने र मानमर्दन गर्दै आएका छन् । अरूलाई आदर्श र नैतिकताको पाठ सिकाउनेले पहिले आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्