सिंहदरबार र आसपास क्षेत्रका सरकारी कार्यालयमा जलेका सवारीसाधनको यस्तो छ विवरण

मंगलबार, भदौ ३१, २०८२

काठमाडौं । भदौ २४ गते जेन-जी  आन्दोलनका क्रममा देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार तथा सिंहदरबार आसपासका क्षेत्रका सरकारी कार्यालयका ४४१ वटा ठुला तथा साना चार पाङ्ग्रे  सवारी साधनमा आगजनी तथा तोडफोड भएका छन् ।

त्यसैगरी सिंहदरबारभित्र र त्यस क्षेत्र आसपासमा ६०१ वटा मोटरसाइकल र स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालयले निकालेको छ।

सरकारी कार्यालयहरूको प्रारम्भिक तथ्यांकानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ साना–ठूला सवारी र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ।

अर्थमन्त्रालयको ३६ वटा चार चक्के र ५४ वटा दुई चक्केमा आगजनी भएको छ। गृहमन्त्रालयको २५ वटा चार चक्के र ३० वटा दुई चक्केमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९ साना–ठूला सवारी साधन र ३९ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३२ साना गाडी, दुई ठूला बस, ३९ मोटरसाइकल एवम् स्कुटरमा आगजनी भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा चार चक्के र ४७ मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ। युवा तथा खेलकुद मन्त्रालयका १९ चार चक्के र २३ वटा दुई चक्केमा आगजनी भएको सरकारी कार्यालयहरूले प्रारम्भिक आकलन गरेका छन्।

यस्तो छ आगजनी त तोडफोड भएका सवारी साधनहरुको विवरण-

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्