सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सोबिता गौतमले संसद् विघटन गर्न नहुने बताएकी छिन् । एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेन-जीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम भने सैह्य नहुने बताएकी हुन् ।
उनले सन्देशमा भनेकी छिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो ।’ जेन-जीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने उनको अडान थियो ।
भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनको अवस्थासमेत बाहिर ल्याइएको छैन । यता जेन-जीसहितको स्वार्थप्रेरित समूहले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मन्त्रालयहरू, सरकारी कार्यालयहरू सबै जलाएका छन् ।
यो उद्दण्डको जिम्मेवारी काँधमा लिएर जेन(-जी अगाडि बढ्नु पर्नेछ । यता नेपाली सेनाले जेन-जीहरूलाई संवादमा आउन आह्वान गरेको छ । तर सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलसमेत पछि परेका छन् ।
सम्भवतः आज पौडेलसँग जेन-जीहरूले वार्ता गर्नेछन् । यद्यपि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिएको सूचनासमेत सार्वजनिक भएको छ ।
त्यस्तै जेन-जीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनाउने गरी प्रस्ताव अघि सारेको भए पनि यो विषयलाई लम्बाउन खोजिएकोसमेत पाइएको छ ।कार्कीलेसमेत आफू नेतृत्व लिन तयार रहेको बताएकी छिन् । त्यसका लागि पहिले विघटन गर्नसमेत खोजिएको छ ।
यी घटनाहरुबीच सांसद गौतमले कुनै पनि हालतमा संसद विघटन गर्न नहुने बताएकी हुन् । सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नैपर्ने देखेर आफ्ना कुरा राखेको पनि उनले बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर संसदलाई कायम चाहिँ राख्नुपर्छ । अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेन-जीहरू जसरी सक्रिय हुनुभएको छ । चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सही मान्छे जनताले निर्वाचित गरे भने कानून बनाएर कानूनको दायरामा ल्याएर तिनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ । बस् नेपाली जनताले सही मान्छे निर्वाचित गरेर पठाउनु पर्यो । यो जनताको सर्वोच्चता कायम हुन्जेलसम्म मात्रै सम्भव छ ।’
प्रधान सेनापति सिग्देलले दुर्गा प्रसाईं र रास्वपा पनि स्टेक होल्डर भएकाले सँगसँगै कुरा गर्नुपर्ने भनी जेन्जी अभियन्तालाई भनेसँगै वार्ताको माहोल बिगार्न खोजिएको त हैन भन्ने प्रश्न उब्जिएको छ । यही बीचमा सांसद गौतमको भनाइले संसदको गरिमा र नागरिकको सर्वोच्चतालाई थप मजबुद बनाउनुपर्नेमा बल दिएको छ ।