सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्।
उनले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्।
मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।”
उनले ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्योरु’ भनी प्रश्न गरेका छन्। उनले यसको जवाफ नखोजी सत्तामा बस्न नसक्ने बताएका छन्। उनले ‘कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने’ उल्लेख गरेका छन्।
धादिङ २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी गत असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा प्रतिबद्ध रहेको पनि बताएका छन्।
अन्तमा, उनले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने बताउँदै ‘हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ‘नेता हौं’ भन्नेहरूमा विकास होस्’ भन्ने शुभकामना व्यक्त गरेका छन्।
यस्तो छ मन्त्रीको भनाई:
आदरणीय नेपाली जनसमुदायहरू,
नमस्कार, जय नेपाल !
म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।
हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्योरु यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स(-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।
पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी 'नेता हौ' भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
जय नेपाल ।
२४ भाद्र २०८२
रामनाथ अधिकारी
मन्त्री
कृषि तथा पशुपन्छी विकास मन्त्रालय,
सिंहदरबार, काठमाडौं