बाँकेमा मानव बेचविखन तथा ओसारपसारविरुद्धको दिवसमा अन्तरक्रिया

शुक्रबार, भदौ २०, २०८२

नेपालगञ्ज । बाँकेमा एक बर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका १५३८ जनालाई सीमा नाकाबाट उद्दार गरिएको छ । ती मध्ये बाँके जिल्लाका मात्रै ३३५ जना छन् ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित 'मानव बेचविखनविरुद्ध अन्तरक्रिया कार्यक्रम' मा मानव बेचविखन र ओसारपसार विरुद्ध क्रियाशील विभिन्न संघ संस्थाको एकीकृत तथ्यांक प्रस्तुत गरिएको हो । 

तथ्यांक प्रस्तुत गर्दै माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक बर्ष २०८१-८२ मा कोहलपुरका ८० जना, बैजनाथ ६८, नेपालगञ्ज ५६, खजुरा ४७, राप्तीसोनारी ४५, जानकी २०, नरैनापुर १०  र डुडुवाका ९ जनालाई सीमा नाकाबाट उद्दार गरिएको जानकारी दिए । यस्तै यो अवधिमा खोजतलास तथा उद्दारका लागि निवेदन परेको संख्या ८३३ रहेकोमा ४३७ जना फेला परेका छन् । त्यसमा बाँके जिल्लाका मात्रै ११९ रहेकोमा ११४ जना फेला परिसकेका छन् । कोइरालाले मानव बेचविखनको प्रवृत्ति, चुनौती र नियन्त्रणका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८१र८२ मा ५५५ जनाले कार्यालयमा खोजतलास तथा उद्दारका लागि निवेदन दिएका थिए । ती मध्ये ५४८ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा मानव बेचविखनका १२ मुद्दा दर्ता भएकोमा बाँकेका मात्र ७ वटा छन् । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी, नरैनापुरकी महिला विकास अधिकृत कृष्णा कुमारी चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, शक्ति समूहकी निर्मला पौडेल, दमयन्ती फाउण्डेशनकी इन्दु जिसी रावल, अभियान नेपालकी कमला पन्त लगायतले मानव बेचविखनविरुद्ध सबै सरोकारवाला निकाय एकीकृत ढंगले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए । नेपालगञ्ज सहरभित्र पनि पछिल्लो समय बग्रेल्ती खुलेका बयश्क मनोरञ्जन केन्द्रहरुमा निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको भन्दै सरोकारवाला प्रतिबद्ध भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले दिवसको अवसरमा गरिएको अन्तरक्रिया जीवन्त भएको भन्दै अब कार्यान्वयन तहमा प्रभावकारी ढंगले अघि बढ्न सबै एकीकृत ढंगले लाग्नुपर्ने बताए । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँकेको आयोजना तथा माइती नेपाल, साथी एवम् शक्ति समूहको सहयोग र समन्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्