सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएका बाहेक सम्पूर्ण समाजिक सञ्जाल प्ल्याटफर्म क्रमशः निस्क्रिय गर्ने प्रक्रिया शुरू गर्ने भएको छ ।
यसका लागि मन्त्रालयलले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।
मन्त्रालयमा आज बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्मलाई तत्काल निस्क्रिय बनाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको जानकारी दिएका छन् ।
उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहितको इजलासले अदालतको अपहेलनासम्बन्धी मुद्धा नं २०८० सिइएफ ००१२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाललाई अनिवार्य रुपमा सम्बन्धित निकायमा सूचीकरण गराउने नेपाल सरकारले आदेश दिएको छ । उक्त आदेश पालना गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ भदौ ९ मा गरेको निर्णय अनुसार नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्ल्याटफर्मको सूचिकरणको लागि तोकिएका कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने छ ।’
मन्त्री गुरुङका अनुसार सरकारकाले पटकपटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्ल्याटफर्मले अँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो ।
उनले भने, ‘सूचीकरण गर्न एक पैसा पनि लाग्दैन्। हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन । उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ । सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन । समय लाग्ला भनेर स्वनियमनका लागि हामीले सूचना जारी गरेका थियौँ । पहिला महिना, दोस्रो महिना, तेस्रो महिना कोही आएन त्यसपछि फेरि कुटनीतिक माध्यमबाट कुराकानी गर्ने प्रयास गरेका थियौँ । त्यसमा पनि उनीहरु सहमत भएनन्, उनीहरुले नेपालको संविधान, नीति नमान्ने जस्तो ठूलाठूला कुरा पनि गरे, यो कुराहरु पनि हामी सहेकै थियौँ। अत्ति भइसकेपछि हामीले यो निर्णय गरेका हौँ।’
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए ।
उनले भने, ‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन् । तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन् । त्यसमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा छ ।’