सङ्घीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश हुँदै

मंगलबार, भदौ १७, २०८२

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ।

सोमबार पनि यो विधेयक पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएका कारण पेस हुन सकेको थिएन।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, आजै दुई संसदीय समितिको बैठक पनि बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गरिनेछ भने विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्