सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्वारा जानकी गाउँपालिकामा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज उद्घाटन गर्दै उनले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको बताए। उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने बताए ।
‘काँग्रेसभित्र हार्दिकता जोड्नुपर्ने आवश्यकता छ,' उनले भने–‘त्यसको अभावमा निर्वाचनमा हामीले तितो अनुभव बटुल्दै आएका छौं । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।’ काँग्रेसको सिद्धान्तप्रति प्रतिवद्ध गराउनका निमित्त प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाई छ । ‘काँग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्न सक्ने क्षमता जगाउन आवश्यक छ,' उनले भने–‘जसले गर्दा पार्टीलाई बलियो बनाउँछ ।’
उनले काँग्रेसभित्र आपसी समन्वय र सहकार्यको आवश्यकता समेत औंल्याए । गुरुङले सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । ‘राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ,' उनले भने–‘समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिंदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।’
नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले काँग्रेस बाँकेले कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउँदै लगेको बताए । उनले पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराउने काम सम्पन्न भइसकेको उल्लेख गरे । उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा लागिपरेको बताए । प्रशिक्षण शाखा प्रमुख गोपाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर सिंह पुन, लुम्विनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापा मगरले बताइन् ।
दुई दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन सोमवार नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा। कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले नेतृत्व क्षमताको विकास, विश्वदिप लामिछाने ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र तीर्थ पौडेलले प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता विषयमा प्रशिक्षण दिनेछन् ।
त्यसैगरी दोस्रो दिन मंगलवार डा. जगदिश चन्द्र पोख्रेलले लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा र डा। सञ्जय महतोले युवा, रोजगारी र उद्यमशिलताका विषयमा प्रशिक्षण दिने सचिव थापा मगरले जानकारी दिइन् ।
यसैबीच प्रशिक्षण कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघले हेल्थ डेस्क राखेको छ । संघका जिल्ला अध्यक्ष जागेश्वर बस्नेतको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएकाहरुलाई लक्षित गरी हेल्थ डेस्क राखिएको हो ।