एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधन

आइतबार, भदौ १५, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य  सरिता पुनको निधन भएको छ ।रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य पुनको उपचारका क्रममा निधन भएको हो

रुकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका – १० तकसेराकी पुनको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हो । पुन एमालेकी समानुपातिक सांसद थिइन्  । उनी लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन ।

नेकपा एमाले रुकुम पूर्व इन्चार्ज खेममान खड्काले शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार बेलुकी ६ बजेतिर निधन भएको जानकारी दिए । २५ बर्ष पहिले पुनले मुटुको भल्व फेरेकी थिइन । स्वास्थ्य समस्या देखिएपछि उनी अस्पताल पुगेकी थिइन। उनी गर्भबति पनि थिइन ।

फेरि पनि भल्व फेर्नु पर्ने अवस्था देखिएपछि एक महिना पहिला मात्रै उनले छोरीलाई जन्म दिएकी थिइन । उनको अवस्थाका कारण समय पुग्नु भन्दा अगाबै सर्जरी गरि बच्चा निकालिएको थियो । छोरी सकुशल छिन ।

छोरीलाई जन्म दिएपछि फेरि उनले कृतिम भल्व फेरेकी थिइन । त्यसपछि पनि विस्तारै उनले स्वास्थय लाभ लिइ रहेकी थिइन ।

राम्रो भइ नर्मल वार्डमा सारिएको थियो । त्यही बीचमा उनलाई निमोनिया बल्झिन पुग्यो । सोही निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्