नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर प्याब्सनको विरोध प्रदर्शन

शुक्रबार, भदौ ६, २०८२

नेपालगञ्ज । नेपालगञ्जको सडकमा एक साथ स्कुल बस उतारेर प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोध गरिएको छ । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले भदौ ६ गते शुक्रबार देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम तय भए अनुसार नेपालगञ्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको हो । 

प्याब्सन नेपालगञ्ज कार्यसमितिले प्याब्सन बाँकेको समन्वयमा वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराएको 'विरोध कार्यक्रम संयोजक' एवम् प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक फर्किएका थिए । त्यसपछि वीपी चोकबाट पुनः आ(आफ्नो विद्यालयतर्फ गएका हुन् । 

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । 

चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत प्याब्सनले साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाउने तथा दिउँसो २ः३० बजे राष्ट्रिय परिचर्चा आयोजना गर्ने, भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बस्ने कार्य सम्पन्न गरिसकेको छ । भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम अनुसार आज देशैभर स्कुल बस चोक तथा सडकमा उतारेर विरोध प्रदर्शन गरिएको हो।

प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्