नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा संलग्न रहेको आरोप रास्वपाका नेता पक्राउ

शुक्रबार, भदौ ६, २०८२

रुपन्देही । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको अनुसार पक्राउ पर्नेमा रास्वपाका बागमति प्रदेश समिति सल्लाहकार तथा बागमती प्रशिक्षण विभाग प्रमुख रहेका चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा पक्राउ गरेको जानकारी दिएको छ। कँडेललाई रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो 

 चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरिरहेका कँडेलको पनि संलग्नता रहेको पाइएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

गत  साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए । यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो । कँडेल चितवनको लायन्स चोकस्थित कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । उनी उक्त परामर्श केन्द्रका अध्यक्षसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली प्रमाणपत्र प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ भने कँडेलसँग थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह